मिति २०८२, फागुन २७

हाम्रो बारेमा

हाम्रो बारेमा

लिच्छिविकालीन खपिन्छेँ टोल एक परिचय

शक सम्बत ४५२ लिच्छवि राजा बसन्तदेवको पालामा स्थापना गरिएको जलद्रोणीको शिलालेखको आधारमा ललितपुर महानगरपालिका वडा नं ९ र १२ मा फैलिएको लिच्छविकालीन ज्यापु टोल हो ।  आजको मितिले करिब १४८० वर्ष पुरानो लिखित इतिहास बोकेको खपिन्छेँ टोलको ऐतिहासिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध श्री आकाश भैरब विराजमान रहेको छ । यस क्षेत्रका स्थानीय बासिन्दाहरुको आराध्य देवको रुपमा श्री आकाश भैरबलाई स्थानीय भाषामा भैलः आजुको नामले पुजिन्छ । यहाँ महर्जन, अवाले र ब्यञ्जनकार समुदायको बसोबास रहेको छ ।  

९००० मूूर्तिहरुको मन्दिर भनेर विश्व विख्यात पाटन ओकुुबहाल स्थित महाबौद्ध मन्दिरसँग जोडिएको त्याग्माचा चिभाः अर्थात तेराकोटा चैत्यचिवाः खपिन्छेँ टोलमा रहेको छ । थान गणेश, नारायण मन्दिर, अन्य चैत्य, चोक, ईनार, पाटी पौवा, पोखरी आदिले खपिन्छेँ टोलको ऐतिहासिकता झल्किन्छ ।  

खपिन्छेँ टोलको राजनैतिक पृष्ठभूमि हेर्दा नेपालको राष्ट्रिय राजनैतिक आन्दोलनलाई सहयोगी भूमिका खेलेको कुरा इतिहासले कहिल्यै बिर्सिदैन । राष्ट्रिय राजनीतिका श्रद्धय नेता पुष्लाल, तुुल्सीलाल अमात्य, मनमोहन अधिकारी जस्ता नेताहरुलाई भुुमिगत कालमा संरक्षण गरेको टोलको रुपमा गर्विलो इतिहास रहेको टोल हो । राजनैतिक सचेतना जागृत गर्ने गराउने उद्देश्य सहित तात्कालीन अवस्थामा टोलबासीहरुको मेहनतले वि.सं. २०२५ सालमा जन विजय पुस्तकालय् स्थापना भएको हो । 

नेवाः सभ्यता, कला संस्कृति एवं सामाजिक र साँस्कृतिक एकताको मेरुदण्डको रुपमा रहेको खपिन्छेँ मंका खलः त्यस अन्तर्गतको दाफा भजन र टोलमा विद्यमान मौलिक धार्मिक परम्पराको चलि आएको भैलाद्यः ब्वयेगु अर्थात आकाश भैरब प्रदर्शन, द्यःतिकेगु अर्थात देवता ताँस्ने, सरस्वती पूजा, गुंलापारु भोज जस्ता परम्परा आजसम्म पनि रहि आएको छ ।